विशेष सेवाहरू

प्रतिष्ठान अस्पतालले विशिष्टीकृत विशेषज्ञ सेवाअन्तर्गत विशेष सेवाहरू सञ्चालनमा ल्याएको छ । जसले पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई स्वास्थ्य सेवाको केन्द्रका रूपमा विकास गर्दै गएको छ । प्रतिष्ठानमा उपलब्ध विशेष सेवाहरूले देशकै प्रमुख स्वास्थ्य केन्द्रका रूपमा प्रतिष्ठान अस्पताललाई स्थापित गर्दै लगेको छ ।

सिटी स्क्यान सेवा

झण्डै १२ वर्षअघि प्रतिष्ठानको शिक्षण अस्पतालका रूपमा रहेको पश्चिमाञ्चल अस्पतालले पहिलोपल्ट सिटी स्क्यान सेवा सञ्चालनमा ल्याएको थियो । तर, तीन वर्ष नियमित सेवा दिएपछि उक्त सिटी स्क्यान मेसिन बिग्रिएर थन्कियो । त्यसपछि झण्डै ७ वर्ष अस्पतालमा यो सेवा बन्द भयो । त्यसपछि १९ साउन २०७९ बाट नयाँ मेसिन जडान भएपनि अस्पतालले पुनः सिटी स्क्यान सेवा सुरु गरेको थियो । त्यसयता छाती, ढाड र पेटको एक्सरे गर्नुपर्ने बिरामीलाई अस्पतालले नियमित रूपमा सिटी स्क्यान सेवा प्रदान गर्दै आएको छ ।

कार्डियाक क्याथराइजेशन ल्याब्रोटोरी (क्याथ ल्याब)

प्रतिष्ठानको शिक्षण अस्पतालमा रोटरी इन्टरनेशनल पोखराले करिब ५ करोड रुपैयाँको लागतमा कार्डियाक क्याथराइजेशन ल्याब्रोटोरी (क्याथ ल्याब) स्थापना गरी हस्तान्तरण गरेको हो । गम्भीर मुटु रोगको उपचारका लागि आवश्यक पर्ने क्याथ ल्याब ३० असार २०७९ बाट सञ्चालनमा आएको थियो । पहिलोपटक १६ चैत २०७९ मा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको क्याथ ल्याबमा कोरोनरी एन्जीओप्लाष्टी गरिएको थियो । त्यसयता अहिलेसम्म एन्जियोग्राफी, पेरिकार्डियोसेन्टेसीसी, पेसमेकर गरी १ हजार बिरामीको शल्यक्रिया भइसकेको छ ।

आर्थिक वर्ष २०८१/०८२ मा ३ सय २ जनाले क्याथ ल्याब सेवा लिएका छन् । एन्जीओ प्लाष्टी २३ जना, कोरोनरी एन्जीओग्राफी १ सय ६० जना र पेसमेकर सेवा ५ जनाले लिएका छन् । हाल कार्डियोलोजी विभागले टिएमटी, हल्टर, एबीपीएम, इको, टिएमटी सुविधा पनि उपलब्ध गराइरहेको छ ।

अक्सिजन प्लान्ट विथ सेन्ट्रल सप्लाई

प्रतिष्ठानमा करिब २ सय सिलिन्डर प्रतिदिन अक्सिजन उत्पादन गर्न सक्ने क्षमताको अक्सिजन प्लान्ट प्रवासी नेपाली मञ्चको सहयोगमा स्थापना गरी सञ्चालनमा ल्याइएको छ । त्यसका अलावा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागबाट प्रदान गरिएको प्रतिदिन १ सय ५० सिलिन्डर क्षमताको अक्सिजन प्लान्टसमेत सञ्चालनमा छ । यसरी उत्पादित अक्सिजनलाई बिरामीको बेडसम्म सिधै सप्लाई गर्नका लागि पाइप लाइनको व्यवस्था गर्न गण्डकी प्रदेश सरकारबाट प्राप्त आर्थिक सहयोगलाई उपयोग गरी अक्सिजन सेन्ट्रल सप्लाईको व्यवस्था मिलाइएको छ ।

मृगौला प्रत्यारोपण र डायलाइसिस सेवा

प्रतिष्ठानको अस्पतालमा मृगौला फेल भएर हेमोडाइलाइसिस गर्नका लागि आउने बिरामीको संख्या अत्यधिक छ । यसलाई मध्यनजर गर्दै मृगौला प्रत्यारोपण सेवा सञ्चालनमा ल्याउनु अत्यावश्यक थियो । यो कार्यलाई अगाडि बढाउन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबीच २०७८ साल पुस २१ गते सम्झौता भएको थियो ।

आर्थिक वर्ष ०७८/७९ भित्रै मृगौला प्रत्यारोपण कार्य सञ्चालन ल्याउने प्रतिबद्धताका साथ सम्झौता भएअनुसार २०७९ साल असारमा पहिलो पटक प्रतिष्ठान अस्पतालमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा मृगौला प्रत्यारोपण सेवा सुरु भयो । प्रत्यारोपण सेवालाई प्रतिष्ठान अस्पतालले निरन्तरता दिइरहेको छ । हालसम्म प्रतिष्ठानले २० जनाको मिर्गौला प्रत्यारोपण गरिसकेको छ ।

यसैगरी, प्रतिष्ठानले मृगौला डायलाइसिस सेवा नियमित रूपमा बिरामीलाई दिइरहेको छ । हाल प्रतिष्ठानले १८ मेसिनबाट १६५ जना बिरामीलाई सेवा दिइरहेका छन् । बिरामीले आवश्यकताअनुसार हप्ताको १ देखि ३ सेसनसम्म सेवा प्राप्त गरिरहेका छन् ।

एमआरआई सेवा

वि.सं. ०७७ सालबाट प्रतिष्ठानको शिक्षण अस्पतालले एमआरआई सेवा सुरु गरेको हो । अस्पतालले रोटरीको सहयोगमा एमआरआई सेवा सुरु गरेको थियो । त्यसयता वर्षेनी हजारौँ बिरामीले एमआरआई सेवा लिँदै आएका छन् । आर्थिक वर्ष ०८१/८२ मा ४ हजार ३ सय ६० जनाले एमआरआई सेवा लिएका छन् ।

जलन सेवा

जलन सेवा निकै लामो समयदेखि सुरु भएको हो । गत आर्थिक वर्षमा भर्ना भएरै २०० बढी बिरामीले जलन सेवा लिएका छन् । अस्पतालले बर्न युनिटमार्फत यो सेवा प्रवाह गरिरहेको छ । जलनका लागि अस्पतालले ६ शय्या छुट्याएको छ ।

इन्टरभेन्सनल रेडियोलोजी

प्रतिष्ठानको रेडियोलोजी विभागअन्तर्गत अत्याधुनिक प्रविधिमा आधारित इन्टरभेन्सनल रेडियोलोजी (IR) सेवाहरू अनुभवी विशेषज्ञद्वारा प्रदान गरिन्छ । रेडियोलोजी सेवाहरू न्यून आक्रामक, सुरक्षित तथा प्रभावकारी उपचारका लागि समर्पित छन् ।

रेडियोलोजी विभागअन्तर्गत एन्जियोग्राफी, एन्जियोप्लाष्टी तथा स्टेन्टिङ, विभिन्न एम्बोलाइजेसन सेवा (ब्लीडिङ, युटेरिन, प्रोस्टाटिक, ब्रोकियल, पल्मोनरी, भेरिकोसिल) सेवाहरू प्रवाह हुन्छन् । यसैगरी, क्यान्सर उपचारः TACE / DEB-TACE र ट्युमर एब्लेसन, सेन्ट्रल लाइन, PICC लाइन, किमो पोर्ट इन्सर्टसन, TIPS/DIPS, IVC Filter, DJ Stenting तथा विशेष प्रक्रियाहरू पनि रेडियोलोजी विभागले गर्दै आएको छ ।

तीन वर्षअघिदेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले इन्टरभेन्सनल रेडियोलोजी सेवा दिइरहेको छ । अस्पतालमा अहिले दुई जना विशेषज्ञ चिकित्सकले यो सेवा दिइरहेका छन् । गत आर्थिक वर्षमा ३०२ जनाले यो सेवा लिएको अस्पतालको तथ्यांकमा छ ।

ईआरसीपी

प्रतिष्ठानको शिक्षण अस्पतालमा उपलब्ध रहेको ईआरसीपी अर्को विशेषज्ञ सेवा हो । पेटको आन्द्रा परीक्षण तथा उपचारका लागि प्रयोग गरिने यो विशेष उपचार पद्धतिमार्फत वार्षिक रूपमा सयौँ बिरामीले सेवा लिएका छन् ।

फाइब्रो स्क्यान सेवा

पाँच वर्षयता अस्पतालले फाइब्रो स्क्यान सेवा सञ्चालन गरिरहेको छ । अस्पतालको विशेष सेवाका रूपमा रहेको यो सेवामार्फत गत वर्ष २ सय ४६ जनाले परीक्षण गराएका छन् । यो परीक्षण कलेजोको अवस्था पत्ता लगाउनका लागि गरिन्छ ।

शल्यक्रिया कक्ष

हरेक अस्पतालको शल्यक्रिया कक्ष बिरामीलाई नयाँ जीवन प्रदान गर्न वा गुणस्तरीय जीवनयापन गर्न सहज बनाउने स्थान हो । यो बाह्य वातावरणको प्रभाव नहुने उच्च प्राविधिक वातावरणबाट बनाइएको हुन्छ । यहाँ शल्यक्रिया गरिएका बिरामी या गर्नुपर्ने बिरामीलाई सहज जीवन दिन धेरै रोगका विशेषज्ञसहितको ठूलो टिमको आवश्यकता पर्छ । बिरामीमा हुनसक्ने जटिलतालाई मध्यनजर गरी त्यस्तो टिम तयारी अवस्थामा हुन्छ ।

विशेषगरी इन्फेक्सन कन्ट्रोल, शल्यक्रिया सामग्री व्यवस्थापन, आवश्यकताअनुसारका शल्यक्रियामा प्रयोग हुने उपकरणहरूको जोहो, बिरामीको सम्पूर्ण कागजात र सबै किसिमका शल्यचिकित्सकहरूबीच समन्वय आदि पर्दछन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल शल्यक्रिया विभागको उद्देश्य उच्च गुणस्तरयुक्त विशेषज्ञता प्रदान गर्नु हो । यसका लागि सहकार्य, प्रभावकारी सूचना सम्प्रेषण, अत्याधुनिक प्रविधिसहित पूर्ण क्षमताका साथ गुणस्तरीय सेवा प्रदान गरिन्छ ।

शल्यक्रिया टिममा सर्जन, एनेस्थेसियोलोजिस्ट, एनेस्थेसिया नर्स, स्क्रब नर्स, सर्कुलेटिङ नर्स, टेक्निकल एसिस्टेन्ट, रेजिडेन्ट र सहयोगी स्टाफ हुने गरेका छन् ।

शल्यक्रियाअघिको तयारी

शल्यक्रिया गर्नुअघि अप्रेसन कक्षको सरसफाइ, आवश्यक सम्पूर्ण उपकरणको सही स्थानमा व्यवस्थापन, शल्यक्रिया सामग्रीको प्रोसिजर तयारी गर्ने गरिन्छ । सामग्री व्यवस्थापनअन्तर्गत शल्यक्रियाअघि एनेस्थेसिया वर्क स्टेसन, मोनिटर, सिआर्म, ओटी टेबल, ओटी लाइट, सक्सन मेसिन, माइक्रोस्कोप, ल्याप्रोस्कोपिक टावर, लेजर मेसिन आदिको अवस्था जाँच गरी सुरक्षित तरिकाले यही स्थानमा व्यवस्थापन गरिन्छ ।

बिरामीको तयारीका लागि एनेस्थेसिया नर्सले सबै कागजातसहित बिरामीलाई शल्यक्रिया कक्षमा ल्याउँछन् । त्यसैगरी, सम्पूर्ण कागजातहरूको परीक्षण, मेडिकल हिस्ट्रीसहित बिरामीलाई शारीरिक तथा मानसिक रूपमा शल्यक्रिया गर्न तयार बनाइन्छ । त्यसपछि बिरामीलाई शल्यक्रिया कक्षमा लगेर ओटी टेबलमा सुरक्षित रूपमा सुताइन्छ ।

शल्यक्रिया सुरक्षाहरूलाई चेकलिस्टका आधारमा पुनः जाँच गरिन्छ र केही गल्तीहरू रहे तिनलाई सुधारिन्छ । प्रयोग हुने सम्पूर्ण सामग्रीहरूको स्टेरलाइजेसन (संक्रमणरहित) गरिएको मात्र प्रयोग हुन्छ । सम्पूर्ण सामग्रीहरू व्यवस्थित भए नभएको पुनः जाँच हुन्छ ।

शल्यक्रियाका क्रममा

शल्यक्रियाको समयमा सर्जिकल एसिस्टेन्टले आवश्यक सम्पूर्ण सामग्री तयारी तथा पास गर्ने काम गर्दछन् । सर्कुलेटिङ ड्युटीमा रहेकाले अन्य डिपार्टमेन्टसँग कोअर्डिनेसन र कम्युनिकेसनको काम गर्दछन् । शल्यक्रियाका प्रोसिजरहरूको सम्पूर्ण डकुमेन्टहरू तयार गरिन्छ ।

टेक्निकल एसिस्टेन्टले शल्यक्रियाको समयमा सिआर्म मेसिन, ल्याप्रोस्कोपी टावर, अर्थ्रोस्कोपी सर्जरीलगायतमा सहयोगी भूमिका निभाउँछन् ।

शल्यक्रियापश्चात् हेरचाह

शल्यक्रियापश्चात् बिरामीलाई रिकभरी रुममा पठाइन्छ र सबै डकुमेन्ट रिकभरी स्टाफलाई बुझाइन्छ । त्यहाँबाट पोस्ट अपरेटिभ वार्डमा बिरामीलाई पठाइन्छ र उनीहरूका सबै डकुमेन्ट पनि पठाइन्छ । शल्यक्रियामा प्रयोग भएका सबै उपकरणहरूलाई सफा गरी स्टेरलाइजेसन गरिन्छ ।