हाम्रो बारेमा

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (PoAHS) नेपालका ९ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमध्ये एक हो । चिकित्सा विज्ञानको अध्ययन—अध्यापन हुने यो प्रतिष्ठानको नामाकरण सुन्दर पर्यटकीय नगरी पोखराको नामबाट गरिएको हो । संघीय नेपालका ७ वटा प्रदेशहरुमध्ये एक गण्डकी प्रदेशको कास्की जिल्ला अन्तर्गत पोखरा महानगरपालिका—११ रामघाटमा रहेको छ । निकैसम्भावना बोकेको यो प्रतिष्ठानलाई चिकित्सा शिक्षाको आशाको केन्द्र मानिन्छ ।

वि.सं. २०७२ सालमा व्यवस्थापिका संसदबाट पारित भएको “पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२” मार्फत तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई स्तरोन्नती गरेर स्वायत्त शिक्षण तथा स्वास्थ्य संस्थाका रुपमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानका माध्यमबाट सिंगो मुलुकलाई नै टेवा पुयाउँदै आएको छ ।

स्वास्थ्य विज्ञानका क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी मुलुकलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने र सर्वसाधारणलाई सहज रुपमा गुणस्तरीय स्वास्थ्य सेवा दिने लक्ष्य राखेर प्रतिष्ठान स्थापना गरिएको हो । नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिम व्यवस्थापिका संसदले ऐन बनाएर प्रतिष्ठान स्थापना गरेको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२ राष्टपतिबाट माघ १२ गते प्रमाणिकरण भएपछि कानुनी रुपमै प्रतिष्ठान अस्तित्वमा आएको हो । तर, प्रतिष्ठान स्थापनाका लागि वि.सं. २०६९ सालबाट नै प्रयास हुँदै आएको थियो ।

about us

वि.सं. २०७२ सालमै प्रतिष्ठान स्थापना भएपनि प्रतिष्ठानको लक्ष्यअनुसार स्वास्थ्य शिक्षाको अध्ययन—अध्यापन सुरु गर्नका लागि भने थप ४ वर्ष कुर्नुपर्यो । अहिले प्रतिष्ठानमा चिकित्सा शिक्षाका स्नातकोत्तर तर्फका कार्यक्रमहरु सञ्चालनमा छन् । प्रतिष्ठानको शैक्षिक यात्रामा मुख्य कोशेढुंगा भने वि.सं. २०७६ लाई मानिन्छ । त्यतिबेला पहिलो पटक प्रतिष्ठानले ६ विधामा विशेषज्ञता अध्यापन गराउनका लागि नेपाल मेडिकल काउन्सिलबाट १७ सिट पाएको थियो ।

पहिलो पटक प्रतिष्ठानले जनरल सर्जरीमा ४ सिट, स्त्री तथा प्रसुति रोगमा ४ सिट, हाडजोर्नीमा ३ सिट, जनरल मेडिसिनमा २ सिट, बालरोगमा २ सिट, एनेस्थेसियालोजीमा २ सिटबाट अध्यापन यात्रा अगाडि बढाएको हो । हाल चिकित्सा शिक्षाका विभिन्न विधामा पहिलो, दोस्रो र तेस्रो वर्षमा ७६ जना रेजिडेन्ट चिकित्सकहरु स्नातकोत्तर तहमा अध्ययनरत छन् । प्रतिष्ठानले स्नातक तहका एमबीबीएस, नर्सिब, जनस्वास्थ्य, एलाइड हेल्थ साइन्सेज एवं डिएम./एम.सि.एच. जस्ता विशेषज्ञ कार्यक्रम सञ्चालन गर्न पूर्वाधार तयार गर्ने कार्य अगाडि बढाइरहेको छ ।

सुगमता, ठूलो जनसंख्या, मनोरम पोखराको वातावरणमा रहेको प्रतिष्ठान ठूलो सम्भावना बोकेको स्वास्थ्य विज्ञान प्रतिष्ठान हो । नजिकैबाट बग्ने सेती नदी र पर्दा बनेर टल्किरहेको माछापुच्छ्रे हिमश्रृखला प्रतिष्ठानको रमणीयता झल्काउन काफी छन् । त्यसबाहेक पोखराका तालतलैया, गुफा, मन्दिर, रमणीय डाँडाकाँडाले प्रतिष्ठानको शैक्षिक वातावरण थप रमणीय बनाएका छन् ।


- Share -